शान्ति र संविधान, राष्ट्रिय अभियान

शान्ति र संविधान, राष्ट्रिय अभियान
May 23, 2016 No Comments National News, निबन्ध admin

शान्ति र संविधान, राष्ट्रिय अभियान

          राष्ट्र, शान्ति र संविधान एक अर्कामा अन्तर सम्बन्धीत छन् । राष्ट्रमा शान्ति र संविधान भए राष्ट्रको विकास, उन्नति र उत्थान हुन्छ । शान्ति पूर्ण राज्यमा कुनै पनि किसिमको अपराध जन्य कृयाकलाप हुदैन र त्यो देश उन्नतिको मार्गतर्फ जान्छ । राष्ट्र/राज्य संचालन गर्न र राज्य संचालन प्रकृया कस्तो हुने र कुन ढंगबाट संचालन हुने भन्ने विषयले समेटीएको दस्तावेजलाई संविधान भनिन्छ । वि.सं. २००४ सालदेखि पद्यम शंमशेरको बैधानिक कानुनको घोषणाबाट संविधानको शुरु भएको हो । संविधान देशको मुल कानुन हो । संविधान जस्तो हुन्छ मुलुकको शासन प्रकृया पनि त्यस्तै हुने भएकाले उसलाई मुलुकको मुहार हेर्ने ऐना पनि भनिन्छ । संविधान विनाको देशका नागरिक लगाम विनाको घोडा जस्तै हुन्छन् । 

National Constitution and Peace Harmony
          शान्ति र संविधान एकअर्काका परिपुरक हुन् । यदि शान्ति, राज्यमा कायम हुन सकेन भने राष्ट्र विकास हुन सक्दैन र संविधान टिकाउ र जनसहमति अनुरुप भएन भने राज्यमा शान्ति कायम हुदैन । राष्ट्रिय अभियानकोलागि संविधान जरुरी हुन्छ । जव शान्तिको महसुस हुन सक्छ तव मात्र राष्ट्रिय अभियानमा लाग्न सकिन्छ । शान्ति र संविधान दिगो र टिकाउ भयो भने देश उन्नति तर्फ लग्न सकिन्छ । जस्तै उद्योग कलकारखाना स्थापना गर्न, सडक निर्माण गर्न, शैक्षिक कार्यक्रमहरु गर्न लगायतका पूर्वाधारहरुको विकास गर्न, उन्नति गर्न सकिन्छ । यी विकासका पूर्वाधारहरुको विकास गर्नकालागि शान्ति र संविधान टिकाउ र लागु हुनुपर्छ तर, नेपालका कुनैपनि संविधान धेरै समय सम्म टिक्न सकेका छैनन् । वि.सं. २००४ देखि वि.सं. २०७३ साल सम्ममा ७ वटा संविधानहरु निर्माण भईसकेका छन् । यसलाई गणितिय हिसाबले हेर्दा त १० वर्षमा १ वटा संविधान पर्न आउँछ । यो भनेको हाम्रो देशको अस्थिर राजनैतिक अवस्था हो । यसले हाम्रो देशको विकासलाई ठूलो धक्का पुर्‍याईरहेको छ । हाम्रो देशमा यति थोरै समयमा धेरै संविधान हुनु भनेको त हाम्रा प्रतिनिधिहरु संविधान बनाउनमा मात्रै केन्द्रीत रहेको देखिन्छ ना कि देश विकास तथा हाम्रा राष्ट्रिय योजना सञ्चालनमा । 
Golden Gate Bridge San-Francisco
          अमेरीकाको कुरा गर्दा विश्वकै लामो संविधान अहिले सम्म चलिरहेको छ अनि यो देश बिकसित देश हो । साथै अन्य देशहरुलाई हेर्ने हो भने जुन देशमा लामो समय सम्म पनि संविधान परिवर्तन भएको छैन ती देशहरु विकसित मुलुकको सूचिमा पर्न आउँछन् । जस्तै: चिन, भारत, जापान, आदि । त्यसकारण सर्वप्रथम नेपालको विकासका लागि नेपालको संविधान अब टिकाउ हुनु पर्छ । राष्ट्रिय अभियान साथै नयाँ नेपाललाई सार्थक बनाउने हो भने यसका अगाडि रहेका समस्याहरु र चुनौतीहरु समाधान गर्नु अहिलेको मुख्य कारक हो । जस्तो: नयाँ संविधानको कार्यान्व्यन, संघियताको विवाद, गरिबी, लगायतका समस्या । नेपालआफैमा गरिब मुलुक हो । अनि यहाँ धेरै मानिसहरु गरिब छन् । गरिबीको निर्मुलिकरण गर्न सकेमा पनि केही हद सम्म नेपालको बिकास भएको भन्न सकिन्छ । सबै नेपालीहरुले पेटभरि खान पाउनु पर्छ र एकसरो कपडा भएपनि लगाउन पाउनु पर्छ, सबैले शिक्षाको ज्योती ताप्न पाउनु पर्छ, बेरोजगारी अन्त्य गर्नु पर्छ । बेरोजगार युवायुवतीहरुलाई उनिहरुको सीप, क्षमता र योग्यता अनुसार रोजगारीको बाताबरण सिर्जना गर्नु पर्छ । यस्ले उनीहरुको जीवन स्तर उकास्न सहयोग मिल्छ । यी कुराको संविधानले मुल मन्त्रका रुपमा अंगीकार/स्विकार्नु पर्छ । 
सुनधारा स्थित धरहराकाे २०७२ सालमा गएकाे
 भुकम्पपछिकाे दृष्य (Nepal Earthquake 2072)
          नेपालमा वि.सं. २०७२ बैषाख १२ गते आएको महाभुकम्प, मधेश आन्दोलन, संघीयताको मामीला त्यसपछिको टिकापुर घटना, नयाँ संविधानको घोषणा पछिको भारतीय अघोषीत नाकाबन्दी अनि आन्तरीक दलीय भागबण्डाका झगडालगायतका कुराले गर्दा यहाँ धेरै सम्मस्याहरु निम्तीएका छन् । अहिलेको अवस्थामा यी कुराको समस्या समाधान नै शान्ति स्थापनाको अभियानमा रहेको प्रमुख कार्य हो । संघीयताको हावादारी प्रचारप्रसार अर्थात संघीयताको बारेमा निम्न स्तरीय सोच पनि एक प्रकारले समस्या नै हो । यसले गर्दा निकट भविश्यमा ठूलो हिंसाको कारक बन्न सक्दछ । संघीयताले नेपाली आन्तरीक राज्य बिच प्रतिस्पर्धा द्वारा विकासको प्रगति हुनु पर्ने हुन्छ यसकालागि प्रत्येक राज्यमा प्रत्येक कुरा (जस्तो प्राकृति स्रोत र साधन, कृषि, उद्योग, पर्यटन, ब्यवसाय, धर्म आदि )को समानुपातीक भागबण्डा जरुरी हुन्छ ना की जातिय भागबण्डा । तर यहाँ, त, यी प्रान्त/राज्यलाई जातिय मुद्या बनाएर विभिन्न दलहरु लगि परेका छन् । यस्ले शान्ति स्थापनालाई ठूलो असर निम्त्याउँछ । बिभिन्न मधेश केन्द्रीत दलहरु र सरकारमा रहेका दलहरु विच एउटा लचिलो प्रस्ताव पेश गरिनु पर्छ जस्ले दुबै पक्षका जायज मान्यताहरुलाई सकारात्मक रुपमा हेरोस् ।
अन्नपूर्ण हिमश्रिङ्खला
          नेपाल आर्थिक रुपमा अविकसित तथा गरिब मुलुक भएपनि प्राकृतिक स्रोत र साधनले भने भरिपूर्ण छ । यी प्राकृतिक स्रोत र साधनको प्रयोग गरी पूँजी निर्माण गरि साना, मझ्यौला तथा ठूला उद्योगको स्थापना गर्न सकिन्छ । नेपाल जलस्रोतमा धनि देश देश हो । र यहाँका नदिनालाबाट प्रशस्त मात्रामा बिजुली निकाल्न सकिन्छ । तर यहाँ, हामीले खाना खादाँ नाकतिर लग्न बाध्य छौ । हाम्रो देशमा यस्तो कुरा धेरै नै लज्जास्पद कुरा हो । राष्ट्रिय गौरबका आयोजनाहरु पनि अहिले अलपत्र पर्नलागेका छन् । हामीले यसरी विकास गर्नु पर्छ कि जुन विकासको गति अहिले सम्म कुनै देशले नसोचेको हुनेछ । सरकारले सक्ने योजनाहरु आफै गर्नु पर्छ । अनि आफै नसक्ने योजनाहरु कुनै प्रतिष्ठित आन्तरिक वा बाह्य निजि कम्पनीहरुलाई दिनु पर्छ । जसकालागि सरकारले शान्तिपूर्ण बाताबरण निर्माण गर्नु पर्छ र लगानीकर्तालाई ढुक्कसंग काम गर्न दिनुपर्छ । यो तब सम्भव छ जब नेपालमा बनेको नयाँ संबिधान पूर्ण रुपले लागू हुन्छ ।
ठकुरी गाँउ, खर्तुवा नजिकै
          नेपाल कृषि प्रधान देश हो र यस्लाई औद्योगीकरण गर्नुपर्दछ । जसलाई शान्ति र संविधानको अत्यन्त जरुत हुन्छ । नीति र विस्वास सरकारले पूँजीपतिहरुलाई दिनसक्यो भने । देश विकास हुन सक्छ । सम्पूर्ण नेपालीहरुलाई सुरक्षाको महसुस गरि ढुक्कसंग बाच्ने वा बाच्न सक्ने बाताबरणकालागि राजनैतिक स्थिरता कायम गर्न सक्नुपर्दछ । जसकालागि राजनैतिक दलका नेताहरु सत्ताको मोहकालागि भन्दा पनि देश र जनताकालागि काम गर्न सिक्नुपर्दछ । शान्ति सुव्यस्था कायम गर्न र देशमा विकास गर्न बनेको संविधान लागु गर्नु आवश्यक छ । 
जनअान्दाेलन २०६२-६३
          हाम्रो देशमा दुई वर्षमा बन्ने भनेको संविधान सभाबाट संविधान पाँच वर्षमा बन्न नसकेर त्यो संविधान सभा बिघटन भई पुन: संविधान सभाको निर्वाचन भयो । आखिरिमा विषम परिस्थतीमा आएर नयाँ संविधान सभाबाट नयाँ संविधानको घोषणा भयो । तर अझैपनि सत्ताको आसनमा आसिनहरुले मुखमा रामराम बगलीमा छुरा भने झै शान्तिको माला जप्तै युद्धको तयारी गरिरहेको पाईन्छ । नेपाली कसैका सत्रु होईनन् बरु यहाँ भोक, रोग, गरिबी, अशिक्षा, असमानता, हावादारी अबुझिय विज्ञापन (अनर्थ लाग्ने विचार प्रचारप्रसार जसले सधै झगडा र आन्दोलन निम्त्याउँछ ।) जस्ता नेपाली शत्रुहरु छन् । यी शत्रुहरुको छिट्टै अन्त्य गरिनु पर्छ । जसमा शान्ति र संविधानको महत्वपूर्ण भुमिका रहन्छ । 
          अन्त्यमा, शान्तिको अवस्था सुदृढीकरण, दिगो विकास अनि नयाँ संविधानमा सबैको कदर हुनेगरी राष्ट्रिय अभियानमा लाग्न सकिन्छ । 
इतिश्री !!!
About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *