नेपालमा नयाँ प्रविधिमा आधारीत सिंचाइ प्रणाली

नेपालमा नयाँ प्रविधिमा आधारीत सिंचाइ प्रणाली
November 13, 2022 No Comments Knowledge admin

नोटः श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीटक्सार, मुसिकोट-७ को स्मारीकाको लागि तयार गरिएको लेख ।

सिंचाइ

नेपाल कृषि प्रधान देश भनिएतापनि अचेल यो कथन भन्नु उपयुक्त नहुन सक्छ । नेपालमा हाल अधिकांश कृषि उपजहरू भारत तथा दोस्रो मुलुकबाट पैठारी हुने गरेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान दुई दशक अघि ३७.४ प्रतिशत रहेकोमा वर्तमान आ.व.मा घटेर २३.९ प्रतिशत रहेको छ । नेपालको अर्थतन्त्र क्रमशः कृषिप्रधान अर्थतन्त्रबाट सेवाप्रधान अर्थतन्त्रमा रूपान्तरण हुदै गएको देखिन्छ । नेपालको कुल क्षेत्रफल १,४७,१८,१०० हेक्टर मध्ये कुल कृषि योग्य क्षेत्रफल २६,४१,००० हेक्टर रहेकोमा कुल सिंचाइ योग्य जमीन करिव १७,६६,००० हेक्टर मात्र छ । त्यसमा पनि हालसम्म कुल १४,३३,२८७ हेक्टर जमीनमा सिंचाइ संरचनाहरू निर्माण भई सिंचाइ सुविधा पुगेको छ । नेपालको कुल सिंचित क्षेत्रमध्ये करिब एक तिहाई भू-भागमा मात्र वर्षै भरी सिंचाइ सुविधा पुगेको देखिन्छ । अधिकांश नेपाली जनताले अझै पनि कृषिलाई जीविकोपार्जनको मुख्य आधार बनाईरहेको सन्दर्भमा सिंचाइ क्षेत्रमा राज्यले गर्नुपर्ने लगानी पर्याप्त हुन सकिरहेको छैन । यहाँका करिब ६६ प्रतिशत किसान विहान वेलुकाको छाक टार्न कृषिमा निर्भर छन् । देशको राजनितिक अस्थिरता, असमान भौगोलिक बनावट, दक्ष जनशक्ति अवसरको खोजिमा विदेश पलायन, जलवायु परिवर्तन जस्ता समस्याले गर्दा नेपालको कृषि क्षेत्रमा आधुनिकिकरण र व्यावसायिकरण हुन सकेको छैन । किसान माझ पुग्नुपर्ने उन्नत प्रविधिहरु नपुगेकै कारण उत्पादन लागत बढी हुनको साथै गुणस्तरहीन उत्पादन भैरहेको छ ।

संसारको धेरै ठाउँहरूमा अन्‍न उत्पादनका लागि सिंचाइ अझै महत्त्वपूर्ण छ । पानी परे तापनि सुख्खा इलाकाहरूमा अन्‍नबालीका लागि सिंचाइ आवश्यक पर्छ । धेरै गर्मी र सुख्खा मौसमले गर्दा अन्‍न बढ्न र विकास हुन चुनौतीपूर्ण हुन्छ । सिंचाइ जत्ति महत्त्वपूर्ण छ त्यत्तिनै धेरै विरूवालाई पानी धेरै हुँदा बचाउन आवश्यक हुन्छ । धेरै पानीले गर्दा माटोको पोषण बगेर जाने, जरा राम्ररी नबढ्ने, जरामा पानी भरिने र नुन बन्‍ने, साथै विरूवाको गुणस्तर र उत्पादन घट्ने हुन्छ ।

कृषिजन्य उत्पादकत्व बृद्धि विकास गर्नको लागि अवश्य पनि प्रभावकारी ढङ्गको सिंचाइ प्रविधि विकास गरिनु पर्दछ । नेपालमा अधिकांश सिंचाइ संरचनाहरू Run of the River अवधारणामा बनेकाले वर्षातको समयमा बढी भएको पानी संकलन गरी सिंचाइको भरपर्दो सेवा कृषकले पाउन सकेका छैनन् । स्थानीय ठाउँमा उपलब्ध जलस्रोतको अधिकतम उपयोग (Optimum Use) तथा व्यवस्थापन गरेर कृषकको उत्पादकत्व बृद्धि गर्न सकिन्छ । नेपालमा सिंचाइ सम्बन्धी नयाँ प्रविधि भित्र्याउने र त्यसलाई प्रवर्धन गरि कृषि उत्पादन बढाउन उपयुक्त नीतिको व्यवस्था हुनु पर्छ । सीमान्तकृत कृषिभूमि तथा सीमान्तकृत कृषकलाई सम्बोधन गर्दै पहाडी क्षेत्रमा कृषि उत्पादन बृद्धि गर्न उपयुक्त सिंचाइ प्रणालीको स्थापना गरिनुपर्छ ।

नयाँ प्रविधिमा आधारीत सिंचाइ प्रणालीले पानीको Optimum use हुने र कृषि उत्पादन बृद्धि हुन्छ । तर, हाल नेपालमा भएका सिंचाइ प्रणाली प्राचिन अवधारणामा बनेका छन्, जुन प्रणालीमा अधिकतम पानी खेर जाने गर्दछ तथा उपलब्ध भएको पानीलाई विरूवाले अधिकतम प्रयोग गर्न सक्दैन र उत्पादन अवश्य पनि कम हुने गर्दछ । त्यसैले नेपाल सरकारले नयाँ प्रविधिमा आधारीत सिंचाइ प्रणाली (New Technology based Irrigation System); Lift Irrigation, भूमिगत सिंचाइ (Sub-surface Irrigation), तथा थोपा सिंचाइ (Drip Irrigation) प्रणालीको विकास, प्रवर्धन गर्नको लागि नीति, योजना विकास गर्नु पर्दछ । नयाँ प्रविधिको प्रयोगले वर्षैभरी कृषि गर्न सकिन्छ । नयाँ प्रविधिको प्रयोग गरेर पानीको पर्याप्तता नभएका ठाउँहरूमा पनि उपयुक्त बालीनाली लगाई खेती गरेर उत्पादन बृद्धि गर्न सकिन्छ । उदाहरणको लागि पहाडी भेगको माथिल्लो भू-भागमा पानीको उपलब्धता कम हुने गर्दछ, त्यस्तो ठाउँमा सुन्तला वा अन्य फलफूल खेती गर्दा लिफ्ट सिंचाइ तथा थोपा सिंचाइ प्रणालीको संयुक्त प्रयोग गर्दा फलफूल खेतीको उत्पादन बृद्धि गर्न सकिन्छ । थोपा सिंचाइ प्रणालीको करिब ९० प्रतिशत प्रभावकारी हुन्छ, भने लिफ्ट सिंचाइले तल्लो भू-भागमा उपलब्ध पानीको स्रोतलाई पम्प गरी माथिल्लो भू-भागमा प्रयोग गर्न सकिन्छ । नयाँ प्रविधिमा आधारीत सिंचाइ प्रणाली केही महङ्गो भएता पनि कृषकलाई नयाँ प्रविधिमा आधारीत सिंचाइ प्रयोग गरी नगदे बालीको उत्पादन गर्न तालिम प्रदान गरी अर्थतन्त्र र जिवनस्तर उकास्न सकिन्छ । जसको प्रतिफल समग्र देशको कुल गार्हस्थ्यमा देखिन्छ ।

थोपा सिंचाइ (Drip Irrigation) को प्रणाली एक क्रममा लगाइएका बालीनालीका लागि उपयुक्त हुन्छ । थोपा सिंचाइ भनेको विरूवाको जरामा सिधै पानी दिइने जलवायु सिंचाइ प्रणाली हो । किसानहरूको पैसा जोगाउने र बालीको उत्पादन बढाउने एक तरिका थोपा सिंचाइ हो । यस्तो सिंचाइमा विरूवाको जरामा बिस्तारै पानी हालिएको कारणले गर्दा पानी जोगिन्छ । त्यसैले विरूवा सही तरिकामा बढेको र उत्पादन पनि बढेको कुरा पक्का गर्न थोपा सिंचाई प्रणाली जडान गर्न सकिन्छ । थोपा सिंचाइमा सामान्यतया पानीको पूर्वनिर्धारित मात्रा Pipe Networks बाट प्रत्येक विरूवाको जरामा पुर्याईन्छ । जसमा स-साना Water emitters को सहायताले प्रत्येक विरूवाको फेदमा सिधै थोपा-थोपा गरि पानी विरूवालाई दिईन्छ । थोपा सिंचाइबाट पानीको बचत, Fertigation and Chemigation मा सहायता, समय र लागतको बचतका साथै वातावरण मैत्री प्रविधि हुनु तथा विरूवाको Root zone area मा कम तनाव हुनु यसका फाईदा हुन् । थोपा सिंचाइमा सबै बिरुवाहरुमा पानी साथै मलखाद समान वितरण हुने हुदा सबै विरुवाहरुको बृद्धि र विकास समान हुन्छ र उत्पादनमा पनि समान गुणस्तर कायम हुन्छ ।

भूमिगत सिंचाइ प्रणालीमा जमिनको करिब ४० से.मी. भन्दा बढी गहिराईमा Perforated Pipe (प्वाल पारिएको नाला) लाई करिब ५० से.मी. देखि १०० से.मी. को केन्द्रिय दुरीमा विस्तार गरी निर्माण गरिन्छ । खास गरी यस प्रणालीले विरूवाको Root zone area मा नै सिधै पानीको उपलब्धता गराउदछ । यस सिंचाइमा विरूवाको जराले आफूलाई चाहिने पानी माटोको प्वालमा Capillary rise को सहयोगले गर्दा प्राप्त गर्दछ । जसले गर्दा विरूवाले पानीको अधिकतम उपयोग गर्न सक्दछ । यो प्रणाली निर्माण गर्दा सुरूको खर्च अत्याधीक हुन्छ तर यसको विश्वसनियता र गुणस्तर धेरै राम्रो हुने हुदाँ कृषकले कृषि उत्पादन गरि मनग्य आम्दानी गर्न सक्दछन् । यस सिंचाइमा भूमिगत रूपमा पाईने पानीको स्रोतलाई पनि सहि सदुपयोग गर्न सकिन्छ ।

अन्त्यमा, नेपाल सरकारले नयाँ प्रविधिमा आधारीत सिंचाइको साथै एकीकृत जलस्रोत व्यवस्थापनको सिद्धान्त अनुरुप जलस्रोतको बहुआयामिक उपयोग र अन्तर जलाधार जल स्थानान्तरण (Inter Basin Water Transfer)को परियोजना विकास गर्न योजनाहरू अघि बढाउनु पर्दछ । यसबाहेक, तराईमा सतह र भूमिगत सिंचाइको संयोजनात्मक उपयोग र पहाडी क्षेत्रमा नदीमाथिका गह्रा, सदा हराभरा हुनेगरी लिफ्ट प्रविधि प्रयोग गरी बाह्रै महिना सिंचाइ सुविधा विकास गर्ने गरी लाग्नु पर्ने देखिन्छ । सतह सिंचाइको विकल्प नभएका क्षेत्रहरूमा र संयोजनात्मक सिंचाइको लागि Shallow तथा Deep Tube well निर्माण गरि भूमिगत जलाधारको प्रयोग गरेर उत्पादनकत्व बृद्धि गर्न सकिन्छ ।

सन्दर्भ सामग्रीः

  • सिंचाइ नीति, २०७०
  • उर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र), २०७५
  • New Irrigation Technologies, Isaya V. Sijali and Rose A. Okumu
  • नागरिक समाज, Online Journal, सुवास वाबु घिमिरे (कृषि प्राविधिक)
Tags
About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *