सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ भूकम्पले सिंगो देश रोइरहेको बेला हामी अमेरिकामा थियौ । त्यहाँ हामी २७ बटा कार्यक्रममा सहभागी हुने तय भएको थियो । नवौं कार्यक्रम सकेर हामी सेन्ट लुइसमा थियौ ।
१० औं कार्यक्रममा सहभागी हुन जाने मध्यरात नेपालमा भूकम्प गएको खबर सुन्यौ । नेपालमा भूकम्प गएको र धरहरा ढलेको खवर सुनेपछि हाम्रो होसहवास नै उड्यो । धरहरा नै ढलेपछि त अब सबै सकियो भन्ने लाग्यो । त्योबेला आफ्नो परिवार, आफन्त कहाँ छन्, अवस्था के छ, भन्ने नै मनमा बढि छटपटी भयो ।
दुईचार जनाको सम्पर्कपछि भने मनलाई केही शान्त पार्ने प्रयास गर्यौं । त्यसपछि बिस्तारै फेसबुकमा सबै देखियो–पहाड खसेको, पर्खाल ढलेको, मान्छे च्यापिएका, घाइते भएका, ज्यान गुमाएका, ओ हो देशमा ठुलो विपत् आइलाग्यो भन्ने लाग्यो । भूकम्पपछि पराकम्प लगातार गएका कारण झन् त्रासको वातावरण भयो ।
विश्वसामु पनि ठुलो हलचल भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालमा ठूलो भूकम्प गयो भन्ने खबर प्रसारण गरे । यसकारण पनि सम्पूर्ण नेपाल र नेपालीलाई असर पारेको छ भूकम्पले भन्ने लागेपछि हामी केही गर्नुपर्छ भन्ने लागेर योजना बनाउनतर्फ जुट्यौं ।