Er. Pravin Aryal
Inspired for Innovation
~कृष्ण प्रसाद अर्याल~
छन्द : शार्दूलविक्रीडित
ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽ
कैले घाम र ताप, शीत लहरी कैले असीना झरी ।
कैले आँधि वतास वेग थपडी कैले तुषारो परी ।।
जीवन् यापनमा र खेत फलका ती बोट बारी महाँ ।
भारी आपतको बहार पनि त्यो आएर हल्लाउँदा ।।
शान्तै धीर रहेर लोक सुखका खातिर् सुनौला बनी ।
शोभा सुन्दरता छरेर खुशिले हाँस्दै सधै नै खुँदै ।।
फक्रन्छन् बुझ फूल बोट तकको शोभा बढाईकन ।
अर्काको उपकारको जगतमा यो हो सुनौला पन ।।
कल्पिन्छन् कति लोभले र कति ती आनन्द मान्छन् अनि ।
हावाले पनि औ सुगन्ध बटुली हिड्छन् सहर्षै अघि ।।
माली गर्व महाँ परेर दुनियाँ संझन्छ राम्रै छ त्यो ।
तारा टिल्पिल भै मुहार सुनले पोतेर गम्कन्छ त्यो ।।
मौरी भुन्भुन झन् रमाइ रसको ती पान गर्छन् तहाँ ।
शोभा सुन्दरता बुझेर भवरा गुन्गुन् गरी मोहमा ।।
गुन्कन्छन् पुतली बहार झनझन् फैलिन्छ चारौ तरफ् ।
कस्तो शालिनता छ फूल फलमा लोभिन्छ सारा जगत् ।।
काँढा माझ फुलेर फूल यसरी आनन्द बाड्ने भई ।
निष्ठूर चोट समेत बाट गुणमा हट्दैन कस्तै परी ।।
शार्दूलविक्रीडित छन्द, -म स ज स त त गु ।
१२ – ७ मा विश्राम – १९ अक्षर
कावासोती-८, नवलपरासी
(हाल काठमाडौं)