कृष्ण प्रसाद अर्यालको डायरीबाट

कृष्ण प्रसाद अर्यालको डायरीबाट
September 15, 2020 No Comments Knowledge, निबन्ध admin

जीवनको शुरूआत कसरी हुन्छ, कहाँबाट हुन्छ र कहिले देखी शुरु हुन्छ भन्ने कुरा मलाई थाहा छैन । तर पनि एक कुरा अवश्य पनि बताउन सक्छु कि मानिसको जीवन हुन्छ । मानिसले काडा बिच फूल्ने फूलजस्तो जीवन विताउनु पर्छ । तर फूलमा हुने काडा झै अरुलाई घात गर्न सक्ने काम भन्दा आफ्नो बचावटको लागि मात्र ति काडाको प्रयोग गर्ने फूलको बोट झै वर्षा, घाम, झरी, हुरि, आँधि, हिम तुषारो सबै सहेर परागकणको रुपबाट विस्तारै बढ्दै गएर अन्त्यमा ओइलाएर झर्ने कि कसैबाट टिपिएर ओइलाइने भएर बस्नुपर्छ । स्वेच्छाले भन्दा परेच्छाको लागि जस्तोसुकै विपत्ति पनि सहेर जस्तो सुकै संकट आएपनि, रोग लागे पनि, भोक लागेपनि सहेरै बस्नु पर्छ, चुप लागेरै बस्नु पर्दो रहेछ, यस्तै कामलाई नै जीवन भनिदो रहेछ ।

जीवन खुशि, उमङ्ग तथा दुःख दर्दहरूको क्रमबद्ध श्रृंखला रहेछ जुन एक पछि एक गरेर आइरहन्छन् तर कहिलेकहि कसैको लागि दुःखै दुःखको दर्द र पिडा हरु मात्र मिल्दछन् । जीवनमा सायद जीवनरुपि चक्का निर्माण गर्दा कतै कतै दुःख, दर्द र पिडाहरु मात्र पर्न जाने र चक्काको त्यहि भागमा परेका हरुलाई त्यस्तो हुने भएर हो की । निर्माणकर्ता भएको ईश्वरले पनि ध्यान दिएर सबै ठाउँमा सबै कुरा मिलाएर राखेको भए पनि त हुन्थ्यो । सबैजना एकै किसिमको जीवन भित्र पर्ने थिए धनी, गरिब, ठूलो-सानो, सुखी-दुःखी को भेदभाव हुने थिएन किनकि खुसिका दिन र दुःखका दिन बराबर समयमा सबैलाई आउने थिए । सबैलाई फेरी दुःख पनि पर्न सक्छ भन्ने भयले मात्तिन सक्दैनथ्ये भने दुःखको समयमा खुशिको उत्साह र उमङ्गको दिन पनि आउँछ भनेर साहस मिल्थ्यो । त्यसकारण जीवनलाई सुख र दुःखको संगम मात्र नभनेर अनिश्चितताको भ्रमजाल भन्नु राम्रो होलाकि । जालमा अल्झिएको माछो जसरी फुत्कने प्रयासमा झन अल्झिन बल्झिन जान्छ, फूत्कनै नसक्ने गरी त्यस्तै मान्छे पनि एउटा समस्या बाट न उम्कदै अर्को समस्या आएर बाटो छेकिदिन्छ । भ्रम भ्रममा परी त्यस्को विकल्प रोज्दा रोज्दै फेरी समस्या परि आउँछ एवं क्रमले मानिस कहिल्यै पनि यो सांसारिक भ्रमजालबाट उम्कने अनिश्चितताले गर्दा सहि उपायको थाहा नहुनाले भ्रमै भ्रम र देखासिखि गर्दागर्दै भुलि रहन्छ, डुलीरहन्छ, दुःख, दर्द, विरह, वेदनाहरू तथा सुखी र सम्पन्नहरू पनि भ्रमै भ्रममा परि मोह, मायामा, लोभ, लालच, दम्भ, भोग, विलास र मोजमज्जामा लागेर रमिरहन्छन् हाँसिरहन्छन् सधै यसैगरी बस्न सकौला भनेर । कति भन्छन् दुई दिनको जिन्दगिमा मोज नगरे कहिले गर्ने, मरेपछि हैन मनुष्य चोला दुर्लभ छ । मोज गर्ने बखत यहि हो मनुष्य जीवनको अमूल्य चोलामा भनेर अरुको दुःख र विपत्तिमा पनि त्यसै गरेर हाँसि हाँसि तारिदिन्छन् । के यो भ्रमजाल होइन त ! तिनीहरू ति भ्रममा परेका । भमर हरुलाई फूलको अवस्था उसको त्याग र दृढताको पनि ज्ञान भए कसरी फूलको बोटले सधै निश्चल अटल र दृढ भएर सबै प्राकृतिक दैविक तथा मानसिक प्रकोपहरु सहेर शरिरभरी काँडा लाई बस्न दिएर अझै ति काँडालाई पनि पातले छोपेर फूललाई जन्म दिन्छ – कोपिला देखि बढाएर रुप रंगले भरेर मानिसहरूको लागि शोभा बढाई दिन्छ मिठो बासना हावामा छरिदिन्छ, सुवासित बनाएर टपक्क कसैले टिपेर लग्दा पनि चुपचाप रहिदिन्छ, हृदयको टुक्रा हरेक धड्कनको अंश चुडेर लादा पनि बस अर्को फूल तयार गरिदिन्छ । स्वार्थि मानवहरुकोलागि भन्नेकुरा थाहा भए भमरहरू फूलको रस खाने आट गर्थे होलान ! ति भित्र भित्र पसि फूललाई अपवित्र पार्ने, रस चुसेर निरस बनाउने साहस आउथ्यो होला तिनिहरुमा ! फोहोर मैलोमा बस्ने अर्को कोरस चुसेर निर्वाह गर्ने भमराहरू । देउताहरूको, ठूलाठूला साधु महन्तहरू, माहात्माहरु, राजा, महाराजा तथा मान्यजन हरुको शिरमा पुग्न सक्ने त्याग र रूप सौन्दर्य भएका, सबैको लागि राम्रो लाग्ने, उत्सवहरूमा सजाइने, कोठा सजाउन काम आउने फूलहरुलाई छुन र टाढैबाट हेर्न पनि सक्दैनथे ति भमराहरुले, आफै लाज मानेर फर्किन पर्थ्यो । खराब भन्दा खराब र निच भन्दा निच काम गर्नेहरु पनि उत्तम भन्दा उत्तम बस्तुहरुको उपभोग गर्छन फोहोरी भमराले फूलको रस चुसे झै गरी उच्चस्तर भएकाहरु पनि निच भन्दा निच काम गर्न अघि सर्छन् ।

यसरी मानिसको जीवन, फूलको वोट र भमर एकार्कासंग मेल खाने चरित्र भएका तत्व हुन । मानिसहरु पनि उच्च जातिका, निच जातिका, सुखी – सम्पन्न, दुःखी, दरिद्रि, विभिन्न जाति र समुदायमा विभक्त भए झै फूल पनि विभिन्न किसिमका हुन्छन् विभिन्न रंगका, रुपका, कोहिमा काडा हुन्छन् कतिमा हुदैनन्, कतिमा सुगन्ध हुन्छ, कतिमा दुर्गन्ध भरिएको हुन्छ, त्यसै गरी भमर पनि गुह पनि खान्छ, फूलको रस पनि खान्छ । आकार प्रकार र रुप गुणको विभिन्नता भए पनि जीवनमा दुःख सुख, फूल फूलहरूमा, राम्रो-नराम्रो, सुगन्धि-दुर्गन्धि तथा भरी-भरा भएमा, फोहोर र रस दुई दुई कुराहरु हुन्छन् । एकपछि अर्को आउछ यो चक्र समानरुपले चलिरहन्छ। पिंधमा परेको च्यापिन्छ, विचमा परेको चाउरिन्छ, माथी परेको खुशि हुन्छ । एक छिन तलबाट हुर्रिएको समयमा अर्कोपट्टी दुःखको ओह्रालो भाग पनि छ भन्ने होस समेत गुमाएर ।

अनिश्चितता, भ्रमै र भ्रम पूर्व समस्या समाधानका उपायहरू र गलत कदमहरूको फल- दुःखि दरिद्रिको रुपमा विरहि विरहि भएर विरक्तिएर कटाइने दिनहरु खुशि उमंग र हर्षोल्लासका साथ विताइने दिनहरु जोडेर पुरा जिन्दगिका दिनहरु गनिदो रहेछ । सबै बराबर सुखमा रहेका र त्यति नै दुःख व्येहोरेका हुने भए, सबैको दुःख सुखका दिनहरू पनि बराबर हुने थिए तर कतिलाई केहि कुराको दुःख हुन्छ भने त्यहि चिज अर्कोको लागि सुख हुन जान्छ । कतिलाई केहि न केहि चिन्ताले छोड्दैन भने कतिलाई केहि न केहि कुराको सुविधाले छोड्दैन यहि असमानताले गर्दा सधै सवैका दुःख, चिन्ता, विरह, वेदना, भए, त्रास का खुशि, हर्ष, उमङ्ग तथा उत्साह, साहस र जोशका दिनहरू पनि विभिन्न व्याक्तिको विभिन्न अवधि तथा किसिमका हुन्छन् ।

जन्म भएपछि मरण सम्मका सबै दिनहरू जीवन भित्र पर्छन वा पर्दैनन् मलाइ थाहा छैन मलाइ त केवल यतिमात्र छ कि ति सम्पूर्ण दिनहरु मानिसले जानेर वा नजानेर होस वाल्यावस्था, यौवनावस्था वा वृद्धावस्थामा, होश होशमा होस या जोशमा उपरोक्त क्रियामा संलग्न रहन्छ । सबैले गरे झै त्यहि भ्रमजालमा यता र उता गर्दा गर्दै अल्झिएरै रहेको हुन्छ । जीवन भित्र यसको अवस्था र अवधिलाई राखिनु पर्छ, मानिसले जे जे गर्छ, सिक्छ, देख्छ, सुन्छ, भन्छ, देखाउछ, सिकाउँछ, बताउँछ ति अनिवार्य क्रियाहरु हुन् । संसारको लागि समाजको लागि र जीवनको लागि चाहे ति नैतिक हुन वा अनैतिक, लाभदायक होउन वा हानीकारक- एउटालाई हुने हानी अर्कोलाई लाभ हुन जान्छ – त्यस्तै चाहे ति निन्दनिय, दण्डनिय होउन वा प्रशंसनिय होउन – यस्तो नभइकन असमानता हुदैन र असमानता संसारीक नियम नै हो । धर्मात्मा र पापी, स्वर्ग-नरक, मर्त्य-पाताल सृष्टिको लागि अनिवार्य तत्व हुन् । सृष्टि कायम राख्न, मानिसहरूलाई र सबै प्राणीलाई विविध किसिमले विभिन्न ठाउमा खटाएर विभिन्न किसिमको वर्ग, समुदाय, देश-देशान्तर, जाति-समुदायमा विभाजन गरेर प्राकृतिक श्रोतहरूको वाडफाँडमा पनि विभिन्नता ल्याउनु आवश्यक अंग हुन जान्छन्, जसलाई परिस्थिति, विवसता र वाध्यता भनेर मानिसहरूले जान्दछन् । परिस्थिति विपरित भएमा वाध्यता बस विवस भएर र बाँचि रहन परेका हरुले जीवनलाई चिन्दछन् – वास्तवमा जीवन भनेको के हो कस्तो हो र कति अवधिको हुन्छ भनेर । फूलको बोटले अरुको लागि फूल प्रदान गरे झै निश्चल असहाय भएर शरिरमा काडै भए पनि फूल चुडि पुर्‍याएको पिडा पनि भित्र भित्रै दवाएर बाँचे झै आफूलाई घात गर्ने विरुद्ध केहि गर्न नसकेको फूलको बोटको काढाले त्यस्को स्याहार सम्भार गर्ने मालीलाई चोट दिए झै निर्दोष असहाय र उपकारीलाई बरु घात गरेर बस्नु नै जीवन हुन्छ । सहि कुरालाई पर्दाले छोपेको र पर्दा हटाउने, पर्दा खिच्ने वाटोको अल्मलमा अल्झिएको हुन्छ जीवन । चोरी गर्न, डकैति गर्न, उपद्रवहरू, हत्या, मारपिट, कलह, झगडा जस्ता नराम्रा मानिएका क्रियाकलापहरु पुजाआजा, जल तप, दान, धर्मका सेवा, सुश्रु तथा चाकरी, चाप्लुसीका वा धर्मशास्त्रका, नितिशास्त्रा, कानुन, संस्कारका नियमहरु सवै संसारका अर्को शब्दमा जीवनका अनिवार्य आवश्यकता हुन् । यी मध्ये कुनै पनि क्रियाकलापमा संलग्न नहुनुलाई जीवनको मुक्तिको अवस्था भनिन्छ । मुक्तिको आकार प्रकार, रूप केहि हुदैन शुन्य हुन्छ, निराकार, अमर, अजेय र अभेध्य हुन्छ । मानव जीवन चेतनशिल र विवेकशिल योनी ८४ लाख योनी मध्ये उत्तम र दुर्लभ मानिन्छ । अरु योनीमा जीवन परिवर्तन वा योनी परिवर्तनको लक्ष्य हुन्छ भने मानव जीवनमा मुक्तिको लक्ष्य हुन्छ र मुक्ति प्राप्त गर्न सकिने एक मात्र योनी मनुष्य योनी हो भनी धर्मशास्त्रीहरु भन्दछन् । त्यसैगरी विज्ञ विद्वान् तथा वैज्ञानिकहरुपनि मानव चोला सर्वश्रेष्ठ र दुर्लभ मान्दछन् ।

जीवन एकछिनको एकदिनको समयावधिको मात्र हुदैन, केवल सुखै सुख, दुःखै दुःख मात्र पनि जीवनमा आउदैन, सबै किसिमका दिनहरू, सबै किसिमका घटनाहरु, जीवनावधिमा देख्न पाइन्छ, भोग्न पाइन्छ र अनुभव गर्न पाइन्छ । जीवन दौडिरहेको हुन्छ खेलमा खेलाडीहरू खेल जित्ने अभिलाषाले ज्यू ज्यानको वास्ता नगरेर दौडे झै, आखिर जित एक जनाको वा एक पक्ष्यको हुन्छ ।

आशाका इच्छा, आकांक्षा र अभिलाषाका तथा निराशा हतोत्साह र उदासताका क्षणहरू आइरहन्छन्, कति पूरा हुन्छन्, कति हराएर जान्छन्, कति असम्भव भएर पनि जान्छन् जति कोपिला लाग्छ फूल बन्न नपाई हुरिबतास, वर्षा, प्रचण्ड गर्मि सहन नसकि ओइलाएर, झरेर वा मरेर जान्छन् कति फूल फल नलागि झर्ने अवस्थामा पुग्दछन् – यस्तै हुन्छ जिन्दगानी जसरी पनि नबाँचि नहुनी, स्वेच्छाले मर्न पनि नपाइने र जिउन पनि ! अनेकन वाधा अड्चन र अवरोधहरुले थिचिएर, मिचिएर र पिसिएर बस्नु पर्ने कस्तो अचम्म !

Tags
About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *