मन

मन
May 17, 2016 No Comments कथा (Story) admin

~प्रविण अर्याल~Pravin-Aryal

लघु कथा

              खेतको आलीबाट, विपनाको घरको कुर्सुलामा खेल्दै गरेका साना केटाकेटीहरु तिर बाँसको डण्डीमा चप्पल काटेर बर्नाइएको पङ्ग्रा, ज्यामीति बक्सको ट्रली भएको ट्रयाक्टर हातमा नालाको स्टेरीङ्ग समाउदै रमेश आयो – “भ्रुम भ्रुम पि पि…..प छट् छट् खै बाटो छट् ।” 
            उस्को बाटोमा उभिएको कैलाशलाई भन्यो । कैलाशले उस्लाई बाटो छाडीदियो । अलि पर विपनाले भाडाँकुटी पसल राखेकी थिई । जसमा फालीएका चाउचाउ, विस्कुट अनि चक्लेटका खोलमा बस्तु अनुरुप ढुङ्गा माटो राखी प्याक गरीएको थियो । रमेशले स्यउलीको पात दिदै भन्यो – “यस्को बिस्कुट ले त ।” 
           विपनाले जवाफ दिई – “उता जा यस्को आउदैन । जा त्यसलाई खेतको पानीमा लगेर डुवाईदे” रिसाउदै भनी – “त हाम्रो टिममा छैनस् । तलाई केहि पनि दिन्नौ ।”
           रमेशले पनि झर्किदै भन्यो – “तैले नदिएर के भो त म कालीसंग लिन्छु । 
           अनि गाडिको ह्याण्डल घुमाउँदै कोपिलाको दोकान भएतिर गयो । तर, ऊ त्यहाँ नपुग्दै “त यहाँ पनि नआ’ है । ऐलेऽ, …… । अघि, तेरो गाडी चलाउन, एक चोटी देन भनेको दिएनस्, …छुचो †” 
            रमेशले फकाउदै भन्यो “दिम्ला के दिम्ला ….. न रिसा’न ।” 
          “भयो अब पर्दैन तैले दिईरहनु पर्दैन, ….. । मैले पनि बा’लाई बनाईदिन भनेको छु । अहिले बेलुकी बनाईदिनुहुन्छ ।” 
          तलतिर तिरबाट “कैलाश……! कैलाश…..!” कसैले बोलाएको सुनिन्छ । कैलाशकी आमाले कैलाशलाई खाजा खान बोलाउन आएकी थिईन् । तिनीहरु सधै त्यही ठाउँमा खेल्ने गर्दथे । त्यसैले कैलाशकी आमा सधै त्यही ठाउँमा बोलाउन आँउथिन् । अनि सधै गाली गर्थिन् “सधै यो माटोमा खेल्न कति मन लागेको ?” लागाएको कपडालाई देखाउदै “हेर….हेर….यी कपडा…. पुरै रोपाईमा गएर आए जस्तो ।” “तलाई एक चोटी भनेर लाग्दैन ?” 
         कैलाशलाई कपडा फोहोर गरेको देखेर उसकी आमाले गाली गर्दै घरतिर लगेपछि त्यहाँ खेलीरहेका सबै जना खेल्न छाडेर आ आफ्नो घरतिर लाग्छन् । 
रमेश र उसका बुवा–ममी विपनाको घरमा डेरा लिएर बस्ने गर्थे । केहि समय पछि “बिकास…… !बिकास……!” भन्ने एउटा बुढो स्वर सुनीयो । त्यो आवाज विपना अनि विकासका हजुरबा थिए । विपना र बिकास ती बाका दुई छोराका सन्तान हुन् । र दुईभाई छुट्टीएर बसेका थिए । बिकास हजुरबासँग बस्थ्यो अनि हजुरबाको प्रीय थियो । एक छिन नातीलाई नदेख्दा उनी छटपटिन्थे । अनि त्यो समय पनि खाजा खाने भएको हुदाँ बिकासलाई बोलाउन त्यहाँ आईपुगेका थिए । हजुरबा चाई नाती भोको भयो भन्ने चिन्तामा थिए । अनि विपनाको घरमा आएर सोध खोज गर्न थाले । तर भाडाकुटीको तालमेल सकीएपछि बिकास कता गएछ कसैलाई थाहा भएन । कुर्सुलामा खेल्ने सबैगए पछि कतै बजार तिर त गएको छैन भन्ने आसंकामा बिकासका हजुरबाले रमेशलाई तल बजारतिर गएर खोजेर उसलाई ल्याउन अर्‍याए । अनि आफु माथि स्कुल तिर खोज्न गए । 
          बिकास विहानै घर बाट खाना–साना खाएर निस्के पछि घर पुगेको रहेनछ । अलिक बुझ्दा त आफ्नी सौतीनी आमासंग रिसिएर निस्केको रहेछ । बिकासलाई सौतीनी आमाले उलाई धेरैमाया गर्थिन् हुन पनि उ घरको एक्लो छोरा थियो र सौतीनी आमाका एक पनि सन्तान् थिएनन्, त्यसैले होला । तर त्यसदिन खाना खादा वित्तिकै चाउचाउ खाने भन्दै पैसा मागेको रहेछ, अनि आमाले नदिएकी रहिछन् । त्यसपछि उ घरबाट हिडेको, घर फर्किएको रहेनछ ।
          बिकासलाई खोज्न भनेर रमेश बजार तिर लाग्यो । रमेश चोखो मन, बुद्धिमान्, अनि बहकीने खाले थियो । बजार जाने बाटो दुईतीन वटा थिए । रमेश अलिक सुनसान बाटो तर छिटो बजार पुगीने बाटो रोज्यो र बजार पुग्यो । बजार सानो थियो । बजारको ओल्लो छेउबाट पल्लो छेउ खोज्दै गयो तर बिकासलाई कतै भेटेन । एकचोटी, बिकास अर्को बाटोवाट घर पो गयोकी भञ्ठान्यो । र फर्कने सोच्यो । तर त्यतीकैमा बिकास एउटा पसलको पछिल्तिर वाट आईरहेको देख्यो । अनि उ बिकास नजिकै पुगेर घरजान भन्यो – “तेरो हजुरबाले तलाई खुऽब खोज्नु भएको छ ।” 
         “किन ?” 
         “खाजा खान हो ।”
         “मलाई भोक लाग्या छैन । एकछिन् पछि जान्छु ।” 
         “छिटो जा रे । तेरा हजुर बा मर्न लागे  क्या !” 
         “ह्या ! अईले जान्छु ।”
         “जे सुकै गर ।” 
         त्यसपछि रमेश पनि त्यही खेल्न लाग्यो । उ बजारमा आफ्ना साथीहरुसंग ‘छोए डुम’ खेल्न लाग्यो । एकछिन पछि बिकास डुम भयो । त्यहाँ बजारको एकछेउमा एउटा रोकीराखेको बस थियो । त्यस्को मुनीबाट रमेश बसको अर्काेपट्टी गयो । बिकास पनि रमेशलाई पच्छ्याउदै डुम पार्न बसमुनीबाटै छिर्यो । ठिक त्यसै समयमा बिकासका हजुरबा पनि बिकासलाई खोज्दै बजार आएका रहेछन् । त्यसै बेला हजुरबाले बिकासलाई बसमुनी र रमेशलाई बसमुनीबाट निस्कदै गरेको देखे । त्यहाँ त उनले केही भनेनन् । तर विपनाको घर पुगी रमेशका बुवाममीसंग नराम्रोसंग बचन लगाए । “मेरो नातीलाई गाडिमुनी लगेर …..” अरु अरु धेरै धेरै …..ज्यानमाराकै संज्ञा रमेशलाई लगाए । यती क्रुर होलानन् त सुनेकै, सोचेकै थिएनन् होला । “त्यो गाडी हिडेको भए…..” भन्दै गाली गरेर गए । यो कुरा रमेशकी ममीलाई सह्य भएन । रमेश अझै घरआएको थिएन । त्यही बजारमै खेलीरहेको थियो । रमेशमाथी यती ठूलो आरोप लगाईएको बारेमा उलाई केही थाहा थिएन । 
         अलिक अबेर रमेश घरमा पुग्छ । उसकी ममी लाई धेरै नै रिस उठेको थियो । हजुरबाका ति पेचिला कुराको सहन गर्न नसकेर रमेशलाई उसकी ममीले दाउराको च्याङ्बाट एउटा दाउरा निकालेर नराम्ररी कुट्छीन् । एक त उनीहरु डेरामा बसेका थिए अनि यस्तो अब्जस सुन्दा उस्की ममीलाई धेरै पिर परेकाे थियाे । हजुरबाका कुराको पिर अनि रिस रमेशमाथी कुटेर शान्त पार्छिन् ।

@Pravinaryal20

कावासोती-८, नवलपरासी
(हाल काठमाडौं)

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *